१८ जेठ, काठमाडौं । नेपाल टेलिकमले मंगलबारदेखि लागू हुने गरी आइपी प्रविधिमार्फत् अन्तराष्ट्रिय कलसेवा सुरु गरेको छ । जीएसएम तथा सिडिएमए प्रिपेड र पोष्टपेड एवम् अन्तराष्ट्रिय कल सुविधा भएको भिस्याट सेवाबाट एक्सेस कोड १४२४ डायल गरी सस्तो मूल्यमा अन्तराष्ट्रिय आइपी कल सन्चालन गरेको टेलिकमले जनाएको छ ।
यो सेवा प्रयोग गर्दा समूह ‘क’अन्तर्गतका क्यानडा, चीन, हङकङ, भारत, सिङ्गापुर, थाइल्यान्ड र अमेरिकामा प्रतिमिनेट चार रुपैयाँमात्र तिरे पुग्छ । यसैगरी समूह ‘ख’ अन्तर्गतका मलेसिया, दक्षिण कोरिया र मकाउमा फोन गर्दा प्रतिमिनेट ६ रुपैयाँ तथा समूह ‘ग’ अन्तर्गत पर्ने इजरायल, ताइवान, बंगलादेश, पाकिस्तानका लागि प्रतिमिनेट आठ रुपैयाँ लाग्छ ।
समूह ‘घ’अन्तर्गत जापान र रुसका लागि प्रतिमिनेट १० रुपैयाँ तथा समूह ‘ङ’ अन्तर्गत पर्ने बेलायत र अष्ट्रेलियाका लागि प्रतिमिनेट १२ रुपैयाँ तिर्नुपर्ने व्यवस्था टेलिकमले मिलाएको छ ।
टेलिकमले उपभोक्तालाई विदेशमा रहेका आफन्तसँग सहुलियत दरमा कुराकानी गर्नसक्ने सुविधा प्रदान गर्न यो सेवा सन्चालनमा ल्याएको हो । यो सेवा प्रिपेड कलिङ कार्ड तथा प्रिपेड क्रेडिट लिमिट खाताबाट पनि लिन सकिनेछ । १४२५ र १४४५ एक्सेस कोडमार्फत् हुने बजेट कल तथा ०० एक्सेस कोडको सुविधा यथावत रहेको टेलिकमले जनाएको छ ।